योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त

काठमाडौं, ११ बैसाख ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा एमालेनिकट डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार विहान बसेको बैठकले काडेललाई नियुक्त गरेको हो ।

नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष समेत रहेका कँडेल अर्थविद हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेका थिए ।

यसैगरी योजना आयोगको सदस्यहरुमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, डिलबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

 को हुन कँडेल ?

स्थायी समितिमा रहेका नेताहरु मध्ये डा. पुष्प कँडेल मात्र यस अघि कुनै पनि सार्वजनिक नियुक्ति नलिएका नेता हुन् । कँडेल २०४९ सालमा पहिलोपटक पार्टीको आन्तरिक लेखा प्रणालीलाई व्यवस्थित गर्न बनेको केन्द्रीय लेखा आयोगमा सदस्य भए यता निरन्तर पार्टीको केन्द्रीय तहमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

लेखा आयोगमा दुई कार्यकाल सदस्य, एक कार्यकाल सचिव र पार्टीको आठौं र नवौं महाधिवेशनबाट दुई कार्यकाल निर्वाचित अध्यक्ष र स्थायी समितिमा आमन्त्रित सदस्य छन् ।

पार्टीको ८ औं राष्ट्रिय महाधिवेशन (बुटवल महाधिवेशन) मा संघीयताको विपक्षमा फरक मत दर्ज गरेर चर्चामा आएका कँडेल केपी ओलीको टीमका थिंकट्यांक हुन् । पार्टीमा नरम स्वभाव र सतहमा देखिनेगरी गुटबन्दीमा नलाग्ने उनी बुटवल माधिवेशनदेखि ओलीको खास टीममा रहँदै आएका छन् ।

त्रिविमा व्यवस्थापन संकायका प्राध्यापक उनी ३२ वर्ष प्राध्यापन सेवा गरेका अनुभवी र बौद्धिक नेता हुन् । कर प्रशासनमा विद्यावारिधी गरेका अर्थविद् कँडेल आर्थिक विश्लेषक हुन् । कँडेलले १३ वटा पुस्तक लेखिसकेका छन् ।

धादिङ मलेखुमा जन्मिएका कँडेल विद्यार्थी राजनीति, सम्पर्क मञ्चको संस्थापक हुँदै पार्टी केन्द्रीय कमिटीमा प्रवेश गर्दा नै पार्टीको हिसाव किताव चुस्त राख्नको निम्ति पाँचौं महाधिवेशन पश्चात मदन भण्डारीको प्रस्तावमा २०४९ मा केन्द्रीय लेखा आयोगको सदस्य भएका थिए ।

Loading...