अब नेपाल वायुसेवा निगमको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने

काठमाडौं, २ साउन । नेपाल वायुसेवा निगमले अनलाइन बुकिङ प्रणाली सेवा सुरु गरेको छ । अब निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ गर्न सक्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष श्री शंकरप्रसाद अधिकारीले आइतबार एक समारोहका बीच अनलाईन बुकिङ सेवाको समुद्घाटन गरे । उनले व्यवस्थापन सुधारको एउटा अङ्ग सूचना प्रविधिको पूर्ण प्रयोग हो भन्दै त्यसतर्फ थप प्रयास आवश्यक रहेको बताए ।

हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ प्रणालीमा आवद्ध गरिनेछ । यसका लागि केही समय लाग्ने निगम व्यवस्थापनले जनाएकाे छ ।

उक्त अवसरमा महाप्रवन्धक सुगतरत्न कंसाकारले निगम नयाँ नयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजना सहित अघि बढेको जानकारी दिए । उनले आफ्ना ग्राहकहरुलाई अनलाइन बुकिङ समावेश गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे ।

इन्फर्मेसन टेक्नोलोजी डिभिजनका उपनिर्देशक अमृतमान श्रेष्ठले निगम अत्याधुनिक प्रविधिलाई सेवामा लगाई उच्चस्तरीय सेवा दिन सक्षम हुँदै गएको बताए ।
आधिकारीक ट्रेड युनियनका महासचिव हिम लम्सालले विमानहरु पूर्ण क्षमतामा उडाउन आग्रह गरे ।

भारतको वर्ड इन्फर्मेशन सिष्टम तथा थाइल्याण्डको टुसीपिसी कम्पनीको प्राविधिक सहभागितामा इन्टरनेट बुकिङको सेवा थालनी गरिएको निगमले जनाएकाे छ ।

Loading...