भाउजुका ‘टीके’बिरुद्ध ५ भाईको उजुरी ! अब के हुन्छ ?

काठमाडौं, ११ वैशाख ।

टीका लगाएर भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका नैनसिंह महर विरूद्ध उनका ५ उपाध्यक्षले पार्टीका सभापति शेरबहादुर देउवालाई उजुर गरेपछि विवाद चुलिएको छ ।

यद्यपि, उक्त उजुरी कार्यान्वयन नहुनेमा महर ढुक्क छन् । किनभने सभापतिपत्नी आरजु राणाको बलमा उनी संगठनको अध्यक्ष बनेका थिए ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाको पनि तिव्र आलोचना भइरहेको छ । एकढिक्का बनाएर पार्टी अगाडी बढाउने तयारी गरिरहेको कांग्रेस गुटको प्रभाव नेवि संघमा परेको हो । महरको कार्यशैली तानाशाही भएको भन्दै ५ उपाध्यक्षहरूले समानान्तर संगठन चलाउन सक्ने उजुरीमा उल्लेख गरेका छन् ।

नेविसंघका उपाध्यक्षहरू प्रकाश राना, खड्कबहादुर डाँगी, उर्मिला थपलिया, नवीन राई र सागर परियारले पार्टी सभापति देउवालाई ध्यानाकर्षण गराउँदै नेविसंघको १२ औं महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका छन् । २४ घन्टामा माग पुरा गरिदिन चेतावनी दिँदै आरजु ‘भाउजू’का भाईलाई कारबाहीको अपिल गरिएको छ ।

अधिवेशनको २० महिनासम्म विवादित ११ जिल्लाको अधिवेशन नगरेको, संगठनलाई स्वेच्छाचारी ढंगले चलाएको, विवादित कास्की लगायतका जिल्लामा तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने भए पनि नेविसंघ अध्यक्ष महरले त्यसको बेवास्ता गरेको आरोप लगाइएको छ ।

नेवि संघको विभाजन संगठन स्थापना दिवसका दिन नै सतहमा आएको थियो । छुट्टाछुट्टै कार्यक्रम गरेर स्थापना दिवस मनाएका कारण त्यहाँभित्रको विवाद सतहमा देखिएको थियो ।

यसअघि गत पुस महिनामा पनि नेविसंघ अध्यक्ष महरको कार्यशैली सच्याउन माग गर्दै नेविसंघको असन्तुष्ट पक्षले सभापति देउवासमक्ष माग गरेको थियो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

Loading...