एकाबिहानै माओवादीले किन बोलायो पार्टी हेडक्वार्टर बैठक ? यस्तो छ कारण

काठमाडौं, ९ वैशाख ।

माओवादी केन्द्रले आइतबार बिहानै केन्द्रीय कार्यालयको बैठक डाकेको छ । आइतबार नै दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो ।

प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको प्रगतिबारे जानकारी गराउने छन् ।

दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात आज एकता घोषणा गर्ने तयारी थियो तर, केही प्राविधिक विषयमा कुरा नमिलेपछि एकता घोषणाको अर्को मिति निश्चित भएको छैन । त्यसैले एकताको विषयमा छलफल गर्न बैठक बसेको हो ।

यसबाट एकता हुने कि नहुने भन्ने अन्योल बढिरहेका बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मन्चमा देखिने भएका छन् ।

ओली-प्रचण्डबीच भागबण्डा नमिलेपछि एकता अन्यौलमा परेको छ । खासगरी माओवादीले समान हैसियतमा एकता खोजेपछि एमालेले त्यो स्वीकार गर्न सकेको छैन ।

२ पार्टीका अनुसार चुनाव चिह्न, जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच कुरा मिलेको छैन । ओली र प्रचण्डबीच हुँदै आएका छलफलले पनि निष्कर्ष निकाल्न सकेको छैन ।

Loading...