पल र पुजाले पाए ओभर फ्लो दर्शक

शुक्रबारदेखि प्रदर्शनमा आएको प्रेमकथानक फिल्म ‘म यस्तो गीत गाउँछु’ले शनिबार देशभरका हलमा ‘ओभर फ्लो’ दर्शक पाएको छ । सुदर्शन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मले शुक्रबार पनि हाउसफुलको व्यापार गरेको थियो । शनिबार भने प्रदर्शित सबै हलमा दर्शकको अत्यधिक चाप रहेको निर्देशक थापाले बताएका छन् ।

दर्शकको चापका कारण म यस्तो गीत गाउछु शनिबार गोपीकृष्ण मुभिजका सातमध्ये पाँच हलमा प्रदर्शन गरियो । पाँचवटै हलमा बिहानदेखि साँझसम्मका चारवटै सो हाउसफुल थिए । त्यसैगरी, शनिबार दिउँसोको सोमा बालाजुस्थित अष्टनारायण हलका चारवटै पर्दामा म यस्तो गीत गाउँछु लगाउनुपर्यो ।

दर्शकको ओभर फ्लोका कारण अष्टनारायणमा प्रदर्शनरत अरू फिल्मको सो क्यान्सिल भएको थियो । त्यसैगरी, बालाजुस्थित गंगा हलमा दुवै पर्दामा आफ्नो फिल्म प्रदर्शन गरिएको सुदर्शनले बताए ।

‘देशभर जहाँजहाँ म यस्तो गीत गाउँछु लागेको छ, सबैमा दर्शकको ओभर फ्लो छ,’ सुदर्शन भन्छन्, ‘मल्टिप्लेक्समा पनि निकै राम्रो छ । केही हलमा आइतबारदेखि सो थपिँदै छ ।’

दर्शकको प्रतिक्रिया लिन निर्देशक सुदर्शन, अभिनेता पल शाह र पूजा शर्मा हलहलमा पुगेका थिए । दर्शकले फिल्म निकै मन पराएको बताउँदै सुदर्शनले भने, ‘देशभरबाट निकै राम्रो प्रतिक्रिया आएको छ । फिल्म सुपरहिट भइसक्यो ।’ म यस्तो गीत गाउँछुसँगै प्रदर्शनमा आएको ‘सायद–२’ को व्यापार भने कमजोर छ । फिल्मले बिस्तारै ‘पिकअप’ लिने विश्वास निर्माता सुनील रावलले गरेका छन् ।

Loading...