महासंघमा रहेको ‘सिन्डिकेट’ विरुद्ध पत्रकारहरु आन्दोलनमा

काठमाडौँ,  ६ बैशाख । नेपाल पत्रकार महासंघको प्रदेश चुनावमा ‘सिण्डिकेट’ लगाइएको भन्दै पत्रकारहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

महासंघ सबै पत्रकारको साझा संगठन भएको तर तीन संगठनले सिण्डिकेट लगाइएको भन्दै विभिन्न ७ ओटा पत्रकार संगठन संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र निकट पत्रकार संगठनहरुले सिण्डिकेटको घोषणा गरेका छन् । उनीहरुले अरु संगठनको प्रतिनिधित्व हुन नदिने गरी चुनावी तालमेल गरेका छन् ।

तीन संगठनले छाता संस्थामा सिण्डिकेट लगाइएको भन्दै क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउने, प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, प्रेस सोसाइटी, नेपालका उपाध्यक्ष केशव अर्याल, संघीय प्रेस फोरमका महासचिव सरोज खिलाडी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले संयुक्त विज्ञप्ति जारी गरेर आन्दोनलका कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले प्रेस चौतारी, प्रेस सेन्टर र प्रेस युनियनले पत्रकार महासंघमा सिन्डिकेट लगाउने अभ्यास गरेको बताएका छन् ।

“महासं सबै श्रमजीबी पत्रकारहरुको छाता र साझा संस्था हो । श्रमजीबी पत्रकारका हक, हित, अधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षक तथा नागरिक समाजको अगुवा संस्थाको रपमा महासंघ रहेको छ । महासंघ नेपाली समाजको विविधिता झल्किने सम्पूर्ण रुपमा समावेशी र प्रतिनिधित्वमूलक हुनपर्दछ । तर, प्रदेश निर्वाचन हुँदै गर्दा महासंघलाई साझा बन्न नदिने प्रयन्त भइरहेका छन् । महासंघ जस्तो उच्च गरिमा र व्यापक भूमिका भएको संस्थामा सिन्डिकेट तथा मनपरी लाद्ने प्रयन्त भइरहेका छन् र कार्यसमितिले अमूर्त रुपमा त्यसलाई मान्यता दिने काम भइरहेको छ” जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा महासंघ अगाडि बढाएको चुनावी प्रक्रियाको वैधानिकतामाथि नै प्रश्न उठाइएको छ । प्रदेश चुनाव पनि शाखाको निर्वाचनकै निरन्तरता भएको बताउँदै नविकरणको नाममा शाखा निर्वाचनमा सहभागी भएका ५० प्रतिशत पत्रकारहरुलाई मतदानबाट बञ्चित गर्न लागिएको बताइएको छ ।

महासंघलाई सबै पत्रकारहरुको साझा संस्था हुनबाट रोक्ने कार्य रोक्न माग गर्दै वर्तमान नेतृत्व सिन्डिकेटमा पक्षमा लागे २४ घण्टाभित्र महासंघमा तालाबन्दी गर्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

यस्ता छन् संघर्षका कार्यक्रमः

१. प्रदेश निर्वाचनका क्रममा भइरहेका विवादित गतिविधिहरु रोक्न आम पत्रकारहरुलाई आह्वान गर्ने ।

२. कार्यसमितिका काम तथा प्रदेश निर्वाचनका सन्दर्भमा गरिएका गतिविधि तथा सिन्डिकेटका विरुद्ध महासंघका पूर्वसभापति, अध्यक्ष तथा सबै सरोकारवाहरुबीच अन्तरक्रिया गर्ने ।

३. महासंघ सबेको साझा बनाउने र प्रतिनिधित्व सुनिश्चित हुने अवस्था सिर्जना नगरी जबरजस्त सिन्डिकेट र मनपरी लाद्ने प्रयत्न गरिएमा महासंघमा तालाबन्दी गर्ने ।

४. प्रदेश निर्वाचनको वैधानिकतामाथि उठेको प्रश्नको छलफलका लागि कानुनी उपचार खोज्ने ।

प्रेस विज्ञप्तीको पूर्णपाठः

नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनका सन्दर्भमा महासंघको वर्तमान कार्यसमितिले अगाडि बढाएको प्रक्रिया र सोही आधारमा सतहमा भइरहेका अभ्यासप्रति हामी तल उल्लेखित संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघ सबै श्रमजीवी पत्रकारहरुको छाता र साझा संस्था हो । श्रमजीवी पत्रकारका हक, हित, अधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षक तथा नागरिक समाजको अगुवा संस्थाका रुपमा महासंघ रहेको छ । महासंघ नेपाली समाजको विविधता झल्किने सम्पूर्ण रुपमा समावेशी र प्रतिनिधित्वमूलक हुनुपर्दछ । तर, प्रदेश निर्वाचन हुँदै गर्दा महासंघलाई साझा बन्न नदिने प्रयत्न भइरहेका छन् । महासंघ जस्तो उच्च गरिमा र व्यापक भूमिका भएको संस्थामा सिन्डिकेट तथा मनपरी लाद्ने प्रयत्न भइरहने र कार्यसमितिले अमूर्त रुपमा त्यसलाई मान्यता दिने काम भइरहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका रक्षा र महासंघको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेका र महासंघका सबै प्रक्रियामा सहभागी भएका अरु सरोकारवालाहरु पनि छन भन्ने हेक्का महासंघलाई छ भन्ने हामीलाई लाग्छ । तर, महासंघको वर्तमान नेतृत्वले त्यसखालको पहल गरेको हामीलाई अनुभूति भएको छैन ।

कार्यसमितिले अगाडि बढाएको प्रक्रियाले अब हुने प्रदेश निर्वाचनको बैधानिकतामाथि नै ठूलो प्रश्न उठ्ने छ । प्रदेश निर्वाचन यसअघि सम्पन्न शाखाहरुको निर्वाचनकै निरन्तरता हो । शाखाको निर्वाचनबाट प्रदेश सभा र केन्द्रका लागि प्रतिनिधि समेत निर्वाचित भइसकेका छन् । तर, अहिले नविकरणको मात्र मापदण्ड बनाएर शाखाको निर्वाचनमा सहभागी नभएका करिव ५० प्रतिशत सदस्यहरुलाई प्रदेश निर्वाचनमा भोट हाल्ने अधिकारबाट बञ्चित गरिदैछ । शाखाको निर्वाचनमा सहभागी भएका सबै सदस्यहरुलाई मतदान अधिकार दिइनुपर्छ । अविछिन्न उत्तराधिकारवाला संस्था महासंघको विगतका नेतृत्वले गरेका अभ्यास र अहिलेको विधानमा समेत दुई वर्षभित्र नविकरण गर्न सकिने व्यवस्था छ ।

त्यसैले सदस्यहरुको मताधिकार खोस्ने सोचप्रति हामी गम्भीर आपत्ती जनाउँदछौ । महासंघको इतिहासमा पहिलो पटक बन्दै गरेको प्रदेश संरचनालाई सबै हिसाबले समावेशी, सबैको अपनत्व बोध हुने र प्रतिनिधित्वमूलक बनाउन सरोकारवाला संघ संगठनहरुसँग गम्भीर छलफल गरिनुपर्छ । प्रदेश निर्वाचनको वैधानिकतामाथि नै प्रश्न उठिरहेको अवस्थामा तत्काल प्रक्रिया रोकी छलफल अगाडि बढाउन माग गर्दछौ । सुरुवातदेखि नै यसलाई विवादित बनाएर महासंघलाई नै छाता, साझा र अगुवा संस्था बन्न नदिने भइरहेका गतिविधि रोक्न माग गर्दछौ । यदि कार्यसमितिले यो पहल गर्दैन र कसैको सिन्डिकेट तथा मनपरीलाई नै स्वीकार गरी अरु संघ संगठन तथा सरोकारवालाहरुलाई यो प्रक्रियामा सहभागी हुन नदिन महासंघको वर्तमान नेतृत्व लाग्छ भने त्यो ठूलो विडम्वना हुनेछ । तसर्थ महासंघको वर्तमान कार्यसमितिले उत्पन्न विवादलाई समाधान गर्न २४ घन्टाभित्र पहल नगरेमा तालाबन्दीसहितका निम्न कार्यक्रम गर्न बाध्य हुने जानकारी गराउदछौ ।

कार्यक्रमहरु

१. प्रदेश निर्वाचनका क्रममा भइरहेका विवादित गतिविधिहरु रोक्न आम पत्रकारहरुलाई आह्वान गर्ने ।

२. कार्यसमितिका काम तथा प्रदेश निर्वाचनका सन्दर्भमा गरिएका गतिविधि तथा सिन्डिकेटका विरुद्ध महासंघका पूर्व सभापति, अध्यक्ष तथा सबै सरोकारवालाहरुबीच अन्तरक्रिया गर्ने ।

३. महासंघ सबैको साझा बनाउने र प्रतिनिधित्व सुनिश्चित हुने अवस्था सिर्जना नगरी जवरजस्त सिन्डिकेट र मनपरी लाद्ने प्रयत्न गरिएमा महासंघमा तालाबन्दी गर्ने ।

४. प्रदेश निर्वाचनको वैधानिकतामाथि उठेका प्रश्नको छलफलका लागि कानुनी उपचार खोज्ने ।

प्रभात चलाउने
अध्यक्ष क्रान्तिकारी पत्रकार संगठन, नेपाल

नारायण शर्मा
अध्यक्ष, प्रगतिशील पत्रकार संघ, नेपाल

इन्द्र राउत
अधयक्ष, क्रान्तिकारी पत्रकार महासंघ

केशव अर्याल
उपाध्यक्ष, प्रेस सोसाइटी नेपाल

गोपाल पौडेल
अध्यक्ष, मिडिया नेपाल

सरोज खिलाडी
महासचिव, संघीय प्रेस फोरम

मोहन सिंह
अध्यक्ष, मधेशी पत्रकार समाज

२०७५ बैशाख ५

संघर्षका कार्यक्रम घोषणापछि महासंघले शाखा निर्वाचनमा सहभागी भएका सबै पत्रकारहरु प्रदेश निर्वाचनमा सहभागी हुन पाउने निर्णय गरेको छ ।

Loading...