माइभ्याली गोल्डकप भोलिदेखि, यस्तो छ खेलतालिका

काठमाडौं।

अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको चौथो संस्करण वैशाख ६ बाट सुरु हुने भएको छ । खेल इलामको टुँडिखेल खेलमैदानमा हुने माइभ्याली फुटबल क्लबले जनाएको छ ।

यस संस्करणमा नेपाल, भारत र बंगलादेशका १२ वटा टिमले प्रतिस्पर्धा गर्ने निश्चित भएको माइभ्याली गोल्डकपका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए ।

उनका अनुसार , गोल्डकपमा भारतको दुर्गापुर स्टिल क्लब, सिक्किम युनाइटेड, बंगलादेशको एएएम कामारुजमान, नेपालका ए डिभिजन क्लबका तीनवटा विभागीय टिमहरु त्रिभूवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको (एपीएफ) क्लब तथा संकटा, थ्रीस्टार, मनाङ–मरस्याङ्दी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, ए डिभिजन लिग समेत खेलिसकेको झापा ११ सहित कास्की ११ र आयोजक माइभ्याली फुटबल क्लबले समेत प्रतिष्पर्धा गर्ने जनाइएको छ ।

प्रतियोगिताको विजेताले नगद ६ लाख ६६ हजार ६६७ र उप–विजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले यमाहाको १ सय ५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछ भने , सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ र म्यान अफ द म्याचले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल वैशाख १७ गते हुनेछ । प्रतियोगिता सम्पन्न गर्न आयोजकले ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । गोल्डकपको मुख्य प्रायोजकको रूपमा इलाम नगरपालिका रहेको छ ।

Loading...