नेकपाको बन्दका कारण पूर्वी नेपाल ठप्प, अवज्ञा गर्ने गाडीमा तोडफोड र आगजनी, ठाउँ-ठाउँमा बम

काठमाडौं, ४ बैसाख ।

नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको बन्दका कारण पूर्वी नेपाल बिहानैदेखि ठप्प बनेको छ । बिहानी सेवामा चल्ने लामो तथा छोटो दुरीका यातायात, स्कुल, कलेजहरु ठप्प छन् ।

नेकपाले नेता किरण राईसहित ८ नेताहरुलाई  गिरफ्तारी गरी झुटठा मुद्दा लगाएको भन्दै त्यसको खारेजी र नेताहरुको रिहाईको माग गर्दै मंगलबार पूर्वी कमान्ड बन्द आव्हान गरेको हो ।

यसैबीच बन्द अवज्ञा गरेको भन्दै बन्द कर्ताले बिहानैदेखि यातायातको साधनमा आगजनी र तोडफोड गरेका छन् । काठमाडौंबाट काकरभिट्टा जादै गरेको यात्रुबाहक रात्री बसलाई पुर्वपश्चिम राजमार्गको काने पोखरीमा आगजनी भएको छ । त्यसैगरी सुन्धहरिचामा एउटा मिनि ट्रक र अर्को ट्रिफरमा आगजनी भएको छ । त्यसैगरी मोरङ बेलबारीमा २ वटा ट्रकमा आगजनी भएको छ । मोरङ उता उर्लाबारीस्थित राजमार्गमा बन्द कर्ताले टायर बालेर राजमार्ग अवरूद्ध गरेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरी र मोरङको सिमानामा पर्ने बुडी खोलाको पुलमा बम भेटेपछि सो सडक अवरुद्ध भएको छ । घटनास्थल गछिया बजार अहिले प्रहरीको नियन्त्रणमा छ । बम निष्क्रिय पार्न सेनाको टोली त्यसतर्फ गइरहेको छ ।

ओली सरकारले शान्तिपूर्ण कार्यक्रम गर्न समेत रोक लगाएर धरपकड र गिरफ्तारी बढाएपछि नेकपा त्यसको बिरोधमा उत्रिएको छ भने चरणबद्धरुपमा आन्दोलनको घोषणा समेत गरेको छ । नेकपाले पुर्वघोषित कार्यक्रम अन्तर्गत नै मंगलबार पूर्वी नेपालका जनकपुर, सगरमाथा, कोशी र मेची बन्द गराएको हो ।

यसअघि बन्दको पूर्वसन्ध्यामा नेकपाले सोमबार साँझ पूर्वी नेपालका विभिन्न जिल्लामा मशाल जुलुश निकालेको थियो ।

Loading...