अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माणका लागि चितवन उपयुक्त: धुर्मुस

चितवन, २१  चैत ।

कलाकार तथा धुर्मुस–सुन्तली फाण्डेशनका अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि चितवन उपयुक्त भएको बताएका छन् ।

मंगलबार भरतपुर महानगरपालिका–२० मा रहेको चित्रवन रंगशाला परिसरको अवलोकन तथा निरीक्षणपछि धुर्मुसले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि खेल मैदानको हिसाबले उपयुक्त भएको बताए । ‘जमिन अत्यन्तै राम्रो छ, रंगशाला निर्माणका लागि धेरै कुराहरु छन्, यो मैदान रंगशाला निर्माणका लागि उपयुक्त छ,’ उनले भने ।

अहिले रंगशालाका लागि संभावित स्थानहरुको अवलोकन र निरीक्षण गरिरहेको भन्दै उनले छिट्टै स्थान छनौट गरिने बताए । ‘आईसीसीको रुल हामीले फलो गर्नुपर्छ, क्रिकेट टेक्निकल गेम भएकाले सबै अध्ययनपछि काम अघि बढाउँछौं,’ उनले भने ।

भरतपुर महानगरपालिकाले गरेको जग्गा उपलब्ध गराउने निर्णय स्वागतयोग्य भएको भन्दै उनले खुशी व्यक्त गरे । धुर्मुसले रंगशाला निर्माण समिति बनिसकेकोले सम्बन्धित निकाय, विज्ञ र प्राविधिकको राय सल्लाह सुझाव अनुसार नै रंगशाला निर्माणस्थलको टुंगो लगाउने बताए ।

उनले अहिलेसम्म निर्माणाधीन मुलपानी क्रिकेट रगंशाला पनि निकै उपयुक्त देखिए पनि अन्य स्थानहरुको पनि अवलोकन गरिरहेको बताए ।

Loading...