एमालेले किन बोलायो स्थायी समितिको आकस्मिक बैठक ? यस्तो छ कारण

काठमाडौँ, १९ चैत ।

नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो साँढे २ बजेका लागि बैठक बोलाइएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको आसन्न भारत भ्रमण र एमाले माओवादी पार्टी संयोजन समितिको बैठकमा छलफल हुने विषयहरुमा छलफल गर्न एमालेले बैठक बोलाएको हो ।

एमाले अध्यक्ष ओली यसैसाता भारत भ्रमणमा जाँदैछन् । यस्तै एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक पनि आज बस्दैछ । एमाले–माओवादीबीच एकताको संख्या अनुपात, ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा समान धारणा निर्माण हुन नसकिरहेका बेला बैठक बस्न लागेको हो । एमाले स्थायी समिति वैठकमा सोहि बिषयमा पनि छलफल हुनेछ ।

यही फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुंगाे लगाउन संयोजन समितिको बैठक बस्न लागेको केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए । शर्माका अनुसार बैठक अपराह्न ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।

एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् ।

पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद राख्नेलगायत सातबुँदे प्रारम्भिक आधारमा दुई दलले गत फागुन ७ मा सहमति गरेका थिए ।

Loading...