पुटिनको जवाफी एक्सनः २३ देशका कुटनीतिज्ञ देश निकाला

काठमाडौं, १८ चैत ।

अमेरिका र युरोपका देशहरुले रुसका कूटनीतिज्ञलाई देश निकाला गरेसँगै उसले पनि एकै पटक २३ देशका कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसको विदेश मन्त्रालयले अमेरिका र यूरोपका विभिन्‍न २३ देशका कूटनीतिज्ञलाई आफ्नो देश छोड्‍न भनेको छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘जस्तालाई त्यस्तै’ जवाफ दिनु पर्ने अवस्था अाएको भन्दै २३ देशका कुटनीतिज्ञलाई देश निकाला गर्न विदेश मन्त्रालयलाई अादेश दिएका थिए । यसअघि अमेरिकासहितका देशहरुले रुसका कूटनीतिज्ञलाई अाफ्नो देशबाट हट्‍न भनेका थिए । त्यसैको जवाफस्वरुप यो कदम चालेको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

रुसले अष्ट्रेलिया, अल्बानिया, जर्मनी, डेनमार्क, इजरायल, स्पेन, इटली, क्यानडा, लाट्वीया, लिथुआनीया, मसेडोनीया, मोल्दोवाका रुसस्थित कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरिएको छ । त्यसैगरी नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, रोमानिया, युक्रेन, फिनल्याण्ड, फ्रान्स, क्रोएसिया, चेक गणतन्त्र, स्विडेन र स्टोनियाका कूटनीतिज्ञलाई पनि रुसले देश निकाला गरेको छ ।

रुसका पूर्वकूटनीतिज्ञ सेर्गेई स्क्रिपाल र उनकी छोरी युलिआको हत्या प्रकरणमा रूस नै दोषी रहेको आरोप अमेरिकासहितका केही देशहरुले लगाएका छन् । स्क्रिपालको हत्या रूसमा बन्ने नोभिचोक नामक विषादीलाई नसाबाट दिइएको युरोपेली मुलुक तथा अमेरिकाको आरोप छ ।

विश्वका करिब २४ राष्ट्रले एक सय भन्दा बढी रूसी कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरिसकेका छन् । यो दोस्रो विश्वयुद्धपछि युरोप तथा अमेरिकासहितका मुलुकले रूसविरुद्ध लिएकोे पहिलो कडा प्रतिक्रिया भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

Loading...