बौद्धिक सम्पत्तिको सुरक्षाका लागि जापानले माग्यो सहयोग

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग शुक्रबार भएको शिष्टाचार भेटमा नेपालका उत्पादनलाई जापानी बजारमा सहज पहुँचका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

सिंहदरवारस्थित सचिवालयमा शुक्रबार भएको भेटवार्तामा मन्त्री यादवले जापान सरकारको सहयोगमा सञ्चालनमा आएको उदयपुर सिमेन्ट कारखानाको स्तरोन्नति र कृषि क्षेत्रको आधुनिकीकरणका लागि जापान सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।

जापानी राजदूत ओगावाले नेपालमा ६४ भन्दा बढी उद्योग तथा संस्थामा जापान सरकारको सहयोग रहिआएको उल्लेख गर्दै जापानका बहुराष्ट्रिय कम्पनी नेपालमा लगानीका लागि आउन इच्छुक रहेकाले पूर्वाधार एवम् बौद्धिक सम्पत्तिको सुरक्षामा नेपाल सरकारको सहयोग आवश्यक भएको बताएका थिए ।

Loading...