पर्सामा प्रहरी टोलीमाथि स्थानीयको आक्रमण, पाँच जना घाइते, यस्तो छ कारण

वीरगञ्ज, १७ चैत ।

पर्सामा नेपाल प्रहरीको टोलीमाथि आक्रमण भएको छ । केहि व्यक्तिहरु डकैती गरेर लुकेर बसेको सूचनाका आधारमा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् । स्थानीयको आक्रमणमा परी ५ प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार यादव, नवीन पाल र ऋतुराम सोनार घाइते भएको जनाएको छ । घाइते प्रहरीको ठेगाना र दर्जा भने खुलाइएको छैन ।

प्रहरीका अनुसार, आक्रमणमा परी सामान्य घाइते भएका प्रहरीहरु नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि घर फर्केका छन् ।
पर्साको कालिकामाई गाउँपालिका–१ को गाँजा मुद्दाका फरार अभियुक्त महुवनमा रहेको सूचना पाएपछि प्रहरी चौकी महुवन र जिल्ला प्रहरी कार्यालय पर्साको टोली त्यहाँ पुगेको थियो ।

फरार अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा १०–१५ जनाको समूहमा आएका मानिसहरुले प्रहरीको गाडी रोकेर हँसिया, लाठीले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।

झडपपछि जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो ।

फरार अभियुक्त भारतमा डकैती र हत्यामा संलग्न व्यक्ति रहेको दावी प्रहरीको छ । स्थानीयको प्रतिकार पछि अभियुक्त भाग्न सफल भएका छन् । प्रहरी टोलीमाथि नै आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय तीन जनालाई पक्राउ गरेको छ ।

तस्वीर: गुगलबाट

Loading...