व्यापार घाटा घटाउन योजना ल्याउने तयारीमा ओली सरकार

काठमाडौं, १३ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्षदेखि व्यापार घाटा घट्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ सोमबार बालुवाटारमा ग्रहण गर्दै उनले भने- “व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउँछ ।”

प्रधानमन्त्री ओलीले यसका लागि उपभोग्य वस्तुको उत्पादन, उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिने नीति कार्यान्वयन गर्नुपर्ने बताए ।  नेपाली उपभोग्य सामानका लागि छिमेकमा ठूलाठूला बजार रहेकाले निर्यातमा समस्या नहुने उनकाे विश्वास छ ।

“हामीले उत्पादन गरेका सामग्रीका लागि बजारको अभाव छैन । प्रधानमन्त्री ओलीले भने, -“कृषिमा आधुनिकीकरण गरेर उच्च उत्पादकत्व बढाउनु पर्दछ ।”

देशलाई समृद्धिको मार्गमा अघि बढाउन सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यकपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब बन्द र हडतालको समय सकिएकाले निर्वाध ढंगले लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

Loading...