टेलिभिजन पत्रकारहरु सङ्गठित

काठमाडौं, ११ चैत ।

विभिन्न टेलिभिजनहरुमा कार्यरत पत्रकारहरु सङ्गठित भएका छन् । आइतबार काठमाडौंमा भएको टेलिभिजन पत्रकार संघ नेपालको भेलाले भौतिक मल्लको नेतृत्वमा १७ सदस्यीय कमिटी गठन गरेको छ । उपाध्यक्षमा सहदेव थापा, सचिवमा सर्वजित झा, सहसचिव दिपेन भट्ट र कोषाध्यक्षमा रेखा शाही रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रभात चलाउनेले पेशागत अधिकारका लागि श्रमजीवीहरु एकताबद्ध भइ जनताको पक्षमा सशक्त कलम चलाउनुपर्ने बताए । त्यस्तै सङ्गठनका उपाध्यक्ष दिपेन्द्र रावलले पत्रकारिता निवर्गीय हुननसक्ने भन्दै पत्रकारहरुले जहिले पनि उत्पीडित र आवाजबिहिनहरुको पक्षमा कलम चलाउनुपर्ने बताए ।

भेलामा बोल्दै नेकपा नेता प्रेम दर्नालले नेपालको बर्गीय उत्पीडन अन्त्य नभएको भन्दै उत्पीडित वर्गको पक्षमा कमल चलाउन पत्रकारहरुलाई आग्रह गरे । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका उपत्यका संयाेजक जन्मदेव जैसीले सञ्चार गृहमा देखिएका समस्यासँग जुध्न संगठित टेलिभिजन पत्रकारहरुले पेशागत अधिकारका लागि साहस गर्नुपर्ने धारणा राखे ।

यसैबीच सङ्गठनले श्रमजीवीका हकअधिकार र मिडियाका कन्टेन्टहरुमाथि ब्यापक अन्तर्क्रिया र छलफल चलाउने निर्णय गरेको छ ।

Loading...