कांग्रेसका नेता खुमबहादुर खड्का सिकिस्त बिरामी, भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौं, ९ चैत ।

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का सिकिस्त बिरामी परेका छन् । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ ।

नयाँदिल्ली पुर्याइएपछि उनलाई बुधबारबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको एपोलो अस्पतालको काठमाडौंस्थित सूचना केन्द्रका प्रमुख अर्जुनबहादुर चन्दले जानकारी दिए ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता नयाँदिल्ली लगिएको हो ।

यसैबीच खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको गृहजिल्ला दाङमा पूजाआजा गरिएको छ । दाङको विजौरी र कोठरीसहितका विभिन्न मन्दिरहरुमा नेता खड्काको स्वास्थ्य लाभको कामना गरेर बिहीबार पूजा गरिएको हो ।

दाङ जिल्लाको विकासमा खड्काले पुर्‍याएको योगदानलाई स्मरण गर्दै स्वास्थ्य लाभको कामनासहित पूजा गरिएको कांग्रेसका स्थानीय नेता दीपकजंग पाण्डेले जानकारी दिए । 

पूर्वमन्त्री समेत रहेका नेता खड्काको स्वास्थ्य उपचारमा सहयोग गर्न दाङका स्थानीय कांग्रेस नेताहरुले सरकारलाई आग्रह समेत गरेका छन् ।

Loading...