कांग्रेस बैठकमा संस्थापनको यस्तो तयारी: देउवाले डाटामा रिजल्ट खोज्ने

काठमाडौं, ९ चैत ।

कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठक चुनावी समीक्षामा केन्द्रित हुनेछ । 

बैठकमा सबै नेताहरूलाई चाहेजति बोल्न दिने सभापति शेरबहादुर देउवाको तयारी छ । कांग्रेभित्र अहिले संस्थापन र प्रतिपक्षीका रूपमा नेताहरू बाँडिएका छन् । बैठकमा नेतृत्वप्रति असन्तुष्ट नेताहरू थप आक्रामक रूपमा प्रस्तुत हुँदै छन् भने संस्थापन पक्ष कुन नेताले निर्वाचन क्षेत्रमा गएर कति भोट बढाए भन्ने हिसाब माग्ने योजनामा छ ।

अहिले पौडेल पक्ष आक्रामक र संस्थापन रक्षात्मक देखिँदै गर्दा तेस्रो विचार समूह दाबी गर्दै सिटौला पक्ष आफ्नो धार बलियो बनाउने अभियानमा लागेको छ । दुई पक्षको विवादमा घुसेर आफ्नो पक्षमा माहोल बनाउने रणनीतिमा सिटौला पक्ष देखिन्छ । बैठकमा सभापतिले सबैलाई खुलेर कुरा राख्न दिने तयारी गरेका छन् ।

संस्थापनको तयारी
बैठकमा सभापतिले सबै सदस्यलाई खुलेर कुरा राख्न दिने तयारी गरेका छन् । निर्वाचन हार्नुका कारण, अब प्रतिपक्षीका रूपमा पार्टीले खेल्नुपर्ने भूमिका र पार्टी सञ्चालनको योजना बनाउने विषयमा बैठक केन्द्रित गर्ने संस्थापनको तयारी छ ।

देउवाले डाटामा रिजल्ट खोज्ने
सभापति देउवाले यसअघि नै जिल्ला जिल्लाबाट चुनावको प्रतिवेदन मगाउन निर्देशन दिइसकेका छन् । प्रतिवेदनकै आधारमा कुन नेताले कस्तो भूमिका खेले भन्ने विषयमा समीक्षा गराउने उनको तयारी छ । ‘पार्टीमा हारेकाले गाली गर्न सक्छ, तर उसले आफ्नो ठाउँमा गएर कति भोट ल्यायो, बढायो भनेर पनि खोजी गरिनेछ,’ सभापतिनिकट स्रोतले भन्यो, ‘निर्वाचन हार्नुका पछाडि अहिले जसरी नेतृत्वमाथि खनिने काम भएको छ । अब नेताहरू कहाँ गएर कति मत बढाए भनेर डाटामा रिजल्ट हेरिन्छ ।’ आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर छ ।

Loading...