१८ बर्षपछि खारेज हुँदै शिक्षा विभाग

काठमाडौं,९ चैत ।

माध्यमिक तह हेर्ने शिक्षा विभाग स्थापना भएको १८ वर्षपछि खारेज हुने भएको छ । माध्यमिक शिक्षा स्थानीय निकायमा हस्तान्तरण हुने भएपछि सो विभाग खारेज गर्न लागिएको हो ।

यसको अन्तिम गृहकार्य थालिएको शिक्षा मन्त्रालयले जनाएको छ । विभाग खारेजपछि विभागअन्तर्गतका निकायहरुको व्यवस्थापन गर्ने विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन ।

०५६ सालअघि सञ्चालित आधारभूत तथा प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षा विकास परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमको सार्थक कार्यान्वयन गराउने र क्षत्रीय शिक्षा निर्देशनालय एवं जिल्ला शिक्षा कार्यालयहरूलाई सक्रिय बनाई शैक्षिक प्रणालीलाई बढी प्रभावकारी बनाउे उद्देश्यले ०५६ जेठ ९ मा शिक्षा विभाग स्थापना भएको थियो ।

विभाग खारेज हुने प्रायः निश्चित भएको जानकारी दिँदै शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले भने, ‘नयाँ आर्थिक वर्षदेखि विभाग रहने छैन । तर विभागले गर्ने केही महत्त्वपूर्ण काम केन्द्रीय निकायबाटै सञ्चालन हुनेछन् ।’ यस्तै, विभागको प्रत्यक्ष निगारानीमा रहेका क्षेत्रीय शिक्षा निर्देशनालय पनि लगभग खारेजीको अवस्थामा पुगेका छ ।

जिल्ला शिक्षा कार्यालयहरू यही चैत २८ देखि खारेज हुँदैछन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

Loading...