काठमाडाैंका खतरानाक ज्यानमारा सडक

काठमाडाैं, १ साउन । ‘एकछिन खेलेर आउँछु’ भन्दै जाने छोरीलाई सदाका लागि गुमाउनुपर्ला भनेर कुन बुबाआमाले सोच्लान्? तर, राजधानी काठमाडौंको नेपालटारमा अव्यवस्थित ढलका कारण झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ छोरीलाई सदाका लागि गुमाउनुपरेको छ। फुयाँल दम्पतीले आँखै अगाडि पुतलीझैं यताउति गरिरहेकी छोरी ११ वर्षीया विनितालाई गुमाउनुपरेको हो।

स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत विनिता सानिमाका छोरो आठ वर्षीय रिदमसँग खेल्दै थिइन्। साँझको ४ बजेको थियो। उनले भनिन्, ‘आमा, हामी एकछिन खेल्छौं है १’ उनका बुबा घरनजिकै रहेको रामजानकी मिठाई पसलमा व्यस्त थिए। ‘सधैंजस्तै दिदी–भाइ खेल्न गए भनेर हामी ढुक्क थियौं तर १०–१५ मिनेटपछि रिदम आएर दिदीलाई ढलले बगायो भन्यो’, केही बेरअघि झरी परेर रोकिएको स्मरण गर्दै झंकनाथले भने, ‘हत्तपत्त पुग्दा केही थाहै भएन, सामुन्ने देखिने चौकीमा प्रहरीलाई फोन गरें, लगत्तै आएन। बगाएको देख्नेहरूले त्यो लेदो भेलमा जाने आँटै गरेनछन्।’

यी बालिका यहीनेर खाल्डाेमा डुबेर ढलमा बगेकी थिइन

सामाखुसीमा शुक्रबार विद्यालयबाट फर्किएर सडकमा हिँड्दै गरेकी एक बालिका पनि ढलमा डुबेर केही बेर गायव भइन्। उक्त घटना यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। ढलले हुत्याएर एकछिनमै बृहष्पति विद्यासदनको कक्षा ९ मा अध्ययनरत सत्या सापकोटालाई केही पर पुर्‍याए पनि पैदलयात्रुले उनलाई उद्धार गरेका थिए। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनका बेला सामाखुसी क्षेत्रमा पुग्दा आफू निर्वाचित भए सडक सुधारका लागि तत्कालै काम गर्ने आश्वासन बाँडेका थिए। उनले एक सय दिनमा १०१ काम गर्ने भनी जारी गरेको घोषणापत्रमा पनि सडकका खाल्डाखुल्डी पुर्नेलगायत बुँदा छन्।

Loading...