भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, ५ चैत ।

रुसमा फेरि एक पटक भ्लादिमिर पुटिन राष्ट्रपतिमा निर्वाचित भएका छन् । यसपाली पुटिनको कार्यकाल ६ बर्षको हुनेछ । हिजो भएको राष्ट्रपति निर्वाचनमा पुटिनलाई ७६ प्रतिशत मत मिलेको छ । विपक्षी नेता अलेक्सई नवालनीलाई प्रतिबन्ध गरिएको थियो ।

उनका प्रतिष्पर्धी पावेल ग्रुडिनिनले १२ प्रतिशत मत पाएका छन् । यो जितसँगै यो शताब्दिका पहिलो एक चौथाइ शताब्दि पुटिनले रूसमा शासन गर्ने भएका छन् । शुरुवाती नतिजाको घोषणापछि मस्कोमा र्यालीमा बोल्दै पुटिनले मतदाताले आफुले गरेको कामलाई अनुमोदन गरेको बताए ।

समर्थकलाई सम्बोधन गर्दै पुटिनले यो जित कठिन परिस्थितिमा आफूले पाएको विश्वासको मत भएको बताएका छन् । ‘यो एकता कायम राख्नु निकै महत्वपूर्ण छ, हामी हाम्रो महान मातृभूमिको भविष्यबारे सोच्नेछौं,’ पुटिनले भने ।

६५ वर्षीय पुटिन २००० को मेमा पहिलो पटक रूसी राष्ट्रपति बनेका थिए । रूसी स‌ंविधानमा लगातार दुई पटकभन्दा धेरै राष्ट्रपति बन्न नपाउने प्रावधान छ । सन् २००८ मा आफ्नो दोस्रो कार्यकाल सकिएपछि उनले आफ्ना विश्वासपात्र दिमित्री मेदभेदेभलाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बने ।

मेदभेदेभ राष्ट्रपति बने पनि सत्ताको साँचो भने पुटिनसँगै थियो । किनभने पार्टी र राज्यका सर्वशक्तिमान पुटिन नै थिए । उनले मेदभेदेभको कार्यकालको अन्तिमतिर संविधान संशोधन गर्न लगाएर राष्ट्रपतिको कार्यकाल ४ बाट ६ वर्ष पुर्‍याए ।

त्यसपछि २०१२ मा उनी ६ वर्षका लागि राष्ट्रपति निर्वाचित भए । उनी फेरि राष्ट्रपति निर्वाचित भएपछि पुटिन कहिलेसम्म रूसो राष्ट्रपति हुनेछन् भन्ने अनुमान सुरू भएका छन् ।

दुई पटकभन्दा बढी राष्ट्रपति बन्न नपाउने चिनियाँ संविधानको प्रावधानलाई राष्ट्रपति सी चीन फिङले भर्खरै संशोधन गराएका छन् । यो संशोधनसँगै सी लामो समयसम्म राष्ट्रपति रहने बाटो खुलेको छ ।

चीनजस्तै लामो साम्यवादी इतिहास भएको रूसमा पनि पुटिन आजीवन राष्ट्रपति रहन चाहन्छन् भन्ने अडकल हुन थालेका छन् । उनी राष्ट्रपति निर्वाचित भएपछि एक पत्रकारले उनलाई सोधे–फेरि ६ वर्ष राष्ट्रपति हुने हुनुभो नि ? पुटिनले यो आफैंमा रमाइलो प्रश्न भएको बताए ।

‘के तपाईं म १०० वर्षको हुँदासम्म पनि यहीँ हुन्छु भन्ने सोच्नुहुन्छ ?,’ पुटिनले भने, ‘ अहँ, त्यतिञ्जेल म यहाँ बस्दिनँ।’ यो कार्यकालसँगै पुटिनको रूसमा २० वर्ष लामो राज पूरा हुनेछ ।

Loading...