राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेतृ दाहाल विजयी

काठमाडौं, ४ चैत ।

राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल विजयी भएकी छन् । संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा दाहालले ४५ मत ल्याएर विजयी भएकी हुन् । नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत पाइन् ।

राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ गरी वाम गठबन्धनका ४२ जना सांसद रहेका छन् । कांग्रेसका १३, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका क्रमशः २ २ सांसद रहेका छन् ।

आजको राष्ट्रियसभा बैठकमा ५६ जना सांसदको उपस्थिती रहेको थियो । गत फागुन २८ राष्ट्रियसभा अध्यक्षमा एमालेका प्रदेश नंबर ४ का सहसंयोजक एवं पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका थिए ।

राष्ट्रियसभामा सदस्य पठाउनका लागि गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका सांसदहरुले मतदान गरेका थिए । राष्ट्रियसभामा भएको निर्वाचनमा बामगठबन्धनले ३९ सदस्य जितेको थियो जसमा एमालेको २७ र माओवादी केन्द्रका १२ जना सांसद छन् ।

यस्तै काँग्रेसका १३ जना सदस्य रहेका छन् । पछि काँग्रेसले नियुक्त गरेका सदस्य बदर गर्दै एमालेले सिफारिस गरिएका ३ सदस्यलाई राष्ट्रपतिले मनोनयन गरेकी थिइन ।

६ बर्षको पदावधी रहने राष्ट्रियसभामा गोला प्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, बाँकी एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्ष पदावधि कायम हुने संबैधानिक ब्यवस्था रहेको छ ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ३ महिला, १ दलित, १ अल्पसंख्यक अथवा अपाङ्ग र खुल्ला सदस्यले समानुपातिक ढंगले प्रतिनिधित्व गरेका छन् ।

Loading...