विप्लवलाई पक्राउ पुर्जी जारी गर्ने सरकारको कदम विरुद्ध नेकपाको विशाल जनप्रदर्शनसहित सभा

रुपन्देही । एमाले अध्यक्ष केपी शर्मा अाेली नेतृत्वकाे सरकारले अपनाएकाे दमनपूर्ण रवैयाका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले लुम्बिनीका विभिन्न जिल्लामा प्रदर्शन गरेकाे छ । नेकपाकाे लुम्बिनी ब्यूराे अन्तर्गतका विभिन्न जिल्लामा विशाल र्यालीसहित विराेध प्रदर्शन गर्नुका साथै जनसभाकाे पनि अायाेजना गरिएका छन् ।

यसअघि अाेली सरकारले नेकपाका महासचिव विप्लवलार्इ पक्राउ पुर्जी जारी गर्दै कपिलवस्तुमा रहेकाे उनकाे दार्इकाे घरमा पक्राउ पुर्जी टाँसिएकाे थियाे । त्यसका विरुद्ध नेकपाले कपिलवस्तुमै ठूलाे सङ्ख्यामा जनतालार्इ सडकमा उतारेर जनसभा गरेकाे हाे । कपिलवस्तुकाे जितपुरमा अायाेजना गरिएकाे जनसभालार्इ नेकपाका पाेलिटब्यूराे सदस्य विरजंगसहित केन्द्रीय नेताहरु र विभिन्न व्यवसायी तथा मानव अधिकारवादीहरुले समेत सम्वाेधन गरेका थिए ।

कपिलवस्तुकाे जितपुरमा अायाेजना गरिएकाे जनसभालार्इ नेकपाका पाेलिटब्यूराे सदस्य विरजंगले सम्वाेधन गरेका थिए । नेकपाकाे लुम्बिनी व्यूरो इन्चार्ज समेत रहेका नेता वीरजंगले सरकारले यसैगरी दमनपूर्ण रवैया अपनाए त्यसकाे सशक्त प्रतिराेध गर्ने बताए । साथै उनले विचारलाई दमन गर्ने कुचेष्टा गर्ने राज्यको नीति दिवास्वप्न मात्र भएको बताए ।

भ्रष्टाचारीहरुको अकुत सम्पत्ति सार्वजनिक गरी राष्ट्रियकरण गर्नुपर्ने बताउँदै उनले नेपालमा राजनीतिक क्रान्ति पूरा नहुँदै केही अात्मसमर्पणवादीहरुले बीचैमा बाटाे छाेडे पनि त्यसलार्इ अाफूहरुले निष्कर्षमा पुर्याएरै छाड्ने बताए । देशमा वाम गठबन्धनकाे बहुमत अाए पनि त्याे बहुमत भुसकाे अागाे मात्र रहेकाे र कुनै दिन पूरै खरानी मात्र देखिने उनकाे भनार्इ थियाे ।

सभालार्इ सम्वाेधन गर्दै पार्टीका अर्का केन्द्रीय सदस्य भेषराज भुसालले राज्यका सवै किसिमका दमन विरुद्ध पार्टीले सामना गर्न तयार रहेको बताए । कार्यक्रममा नेकपा अर्घाखाँचीका इन्चार्ज कमल केसी, उद्योग बाणिज्य संघ कपिलवस्तुका उपाध्यक्ष छवि रेश्मी मगर, मानवअधिकारकर्मी राम दयाल ठाकुर लगायतले बोलेका थिए ।

त्यसैगरी नेकपाले अार्इतबार नै रुपन्देही र नवलपरासीमा पनि विराेध प्रदर्शन गरेकाे छ । बुटवल बजारमा गरिएकाे प्रदर्शनपछि जनसभाकाे अायाेजना गरिएकाे थियाे । उक्त सभालार्इ नेकपाका केन्द्रीय सदस्य संजीपकुमारले सम्वाेधन गरेका थिए । बुटवलकाे राजमार्ग चौराहदेखि सुरु भएको विशाल प्रदर्शनपछि ट्राफिकचोकमा सभाकाे अायाेजना गरिएकाे थियाे । सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष संजीवकुमारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा आफुहरु जीवनपर्यन्त लडिरहने बताए । नेता संजीवकुमारले देश भ्रष्टाचारीहरुको अखडा भएको भन्दै त्यसका विरुद्ध पार्टीले एकीकृत जनक्रान्तिको माध्यमद्धारा आन्दोलन गरिरहेको बताए । उनले आफ्नो पार्टीका नेता तथा कार्यकर्ता विरुद्ध राज्यले दमन गर्न खोजिरहेको भन्दै त्यसका विरुद्ध सशक्त प्रतिरोध गर्ने बताए ।

कार्यक्रममा बाेल्दै नेकपा रुपन्देहीका इन्चार्ज शरद ओलीले संसदीय व्यवस्था जनतालाई भोट बैंक बनाउने र जनताको पसिना चुस्ने व्यवस्था भएकोले यसबाट जनताको मुक्ति सम्भव नभएको बताए ।

त्यसैगरी रुपन्देही जिल्ला सेक्रेटरी अमरले दलाल संसदीय राज्यसत्ताका विरुद्ध पार्टी निरन्तर क्रान्तिका लागि अगाडि बढेको बताए । नेकपाकाे रुपन्देही क्रान्तिकारी जनपरिषदका प्रमुख शिशिरले संसदीय चुनावपछि देश भ्रष्टाचारको रस्सातालमा पुगेको भन्दै जनप्रतिनिधिहरुले तत्काल राजीनामा दिनुपर्ने बताए ।

त्यसैगरी अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य एवं लुम्बिनी व्युरो संयोजक कल्पना सुवेदीले एक्काइसौं शताब्दीको युगमा पनि महिलाहरुमाथि निर्मम दमन र हिंसा हुनु दलाल राज्यसत्ताको उपज भएको भएको बताए । कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी अमर, नाथु थारुको संचालन, जीतवहादुर रसाइलीको स्वागतमा सम्पन्न भएको थियो ।

त्यसैगरी नेकपा परासीले पनि प्रदर्शन गरेको छ । प्रदर्शनपछिको सभालाई जिल्ला इन्चार्ज सुमन, नेताहरु डा. शिवशंकर बस्याल, रामप्रित हरिजन, पृथ्वी ढकालले सम्बोधन गरेका थिए । नेकपाले एकीकृत जनजागरण अन्तर्गत देशभर आफ्नो कार्यक्रम सम्पन्न गर्दै गएकाे छ । 

Loading...